कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको उनका बुवा गगनसिंह ऐरीले सुनाए । बुधबार छोराले बनाएको कीर्तिमानमा ऐरीको परिवार मात्रै होइन गाउँनै खुसी रहेको उनले बताए । “घरको टिभीमा रिर्चाज सकिएकाले बिहान रिचार्ज गर्न सुकासाल चौराहा पुगे”, छोराको सफलताले हर्षित गगनसिंहले भने, “चौराहाको कम्प्युटर पसल सञ्चालकले दीपेन्द्रको सफलता मोबाइलमै देखाउँदा खुसीको सीमा नै रहेन ।” एसएलसीसम्म गाउँकै एक निजी विद्यालयमा अध्ययन गरेका उनी त्यो बेलामा पनि खेल जितेर पुरस्कार पाउने गरेको बुबा ऐरीले सम्झे । “चार छोरामध्ये साइँलो हो, दीपेन्द्र”, उनले भने, “छोराले देशको नाम राख्दा हामी निकै खुसी भएका छौँ ।” विद्यालयस्तरमा गाउँमा खेलकुदमा निकै मेहनत र सक्रिय भएर लाग्ने दीपेन्द्र प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूल भर्ना भएका बेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्दथे । “स्वस्थ भइन्छ भन्दै हिँडेर महेन्द्रनगर पुगेर क्रिकेट प्रशिक्षणमा जुट्थ्यो”, उनले भने, “खेलप्रतिको लगाव र महेनतकै कारण आज उ ...