काठमाडौं– घरेलु टोली नेपालले एसिसी प्रिमियर कपमा आज साउदी अरेवियासँग खेल्दैछ । खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्ने सोचका साथ मैदान उत्रनेछ ।
साउदीका दुई तीव्र गतिका बलर इश्तिक अहमद र उतिफ उर रेहमान पनि राम्रो प्रभाव छाड्दै आएका छन् । मुलपानीको मैदानमा युवा स्पिनर जैन उल अबिदीन राम्रो गर्न सक्छन् ।
नेपालले २०१२ पछि साउदीसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले दशक अघि भएको खेलमा साउदीलाई ९ विकेटले हराएको थियो । उक्त खेलमा नेपालका ज्ञानेन्द्र मल्लले २३ बलमा ६१ रन बनाउँदै प्लेयर अफ द म्याच चुनएका थिए ।
मौसम :
वर्षा आजको खेलमा नेपाललाई बाधक बन्नसक्छ । आइतबार साँझ देखि काठमाडौंमा हल्का वर्षा भएको छ । सोमबार विहान काठमाडौंको आकाश कालो बादलले ढाकिएको छ । बिहानको समयमा हाल्का वर्षाको सम्भावना छ । दिउँसो १२ बजेदेखि ४ बजेसम्म ५२ देखि ८० प्रतिशत सम्म वर्षा हुने सम्भावना छ । अर्थात उक्त समयमा वर्षा हुने उच्च सम्भावना देखिन्छ ।
अंक तालिका :
समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कतार २ खेलमा जित विहीन हुँदै पुछारमा छ ।
समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।
यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
Comments
Post a Comment